नेपालगञ्ज, ३ जेठ । नेपाली काँग्रेस बाँके क्षेत्र नं १ का सभापति पोषण केसीका आमा शान्ता रेग्मीको केसीको निधनको शोकमा नेपाल प्रेस युनियन बाँकेले आज श्रद्धान्जली सभाको आयोजना गरेको छ ।
नेपाल प्रेस युनियनका नेता, पत्रकार महासंघका पूर्व महासचिवसमेत रहनुभएका नेता केसीको बाँके राप्तीसोनारी गाउँपालिका वडा नं. १ लौकीस्थित निवासमा नेपाल प्रेस युनियन बाँकेले श्रद्धाञ्जली सभा आयोजना गरेको हो ।
प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभाका बक्ताहरुले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गरेका थिए ।
त्यस अवसरमा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, सामुदायिक रेडियो प्रशारक संघका केन्द्रीय अध्यक्ष अर्जुन गिरी, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका महासचिव नवीन गिरी लगायतले समवेदना प्रकट गर्नुभएको थियो ।
सभामा युनियनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष प्रेम केसी, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव प्रसाद देवकोटा, युनियन लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष जयसिंह केसी, प्रदेश सचिवालय सदस्य गौरव गिरी, नेपाली काँग्रेस बाँके जिल्ला सदस्य टिकाराम बस्नेतलगायतको उपस्थिति रहेको थियो ।
नेता केसीका आमाको बैशाख २६ गते मातातीर्थ औंसीको दिन नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा उपचारका क्रममा निधन भएको थियो ।