नेपालगञ्ज, ३ जेठ । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ५ को आर्थिक वर्ष २०८०÷८१ मा सम्पन्न भएका विकास योजना, सेवा प्रवाह र कार्यक्रम बारे आज सार्वजनिक सुनुवाई गरिएको छ ।
उक्त वडा कार्यालयको आयोजना र बास नेपालको सहजिकरणमा बिनौनामा भएको सार्वजनिक सुनुवाईका सहभागिहरुले कृषि तथा पशु सेवा प्रभावकारी हुन नसकेको, गौसालाका ग्वालाहरुले पाउने सेवा नपाएको, कतिपय क्षेत्रमा बिधुतको पोल नभएको, महिलाहरुका लागि संचालन हुने सिपमूलक तालिमको विषयमा सबैलाई जानकारी नदिइएको गुनासो पोखेका थिए ।
त्यस्तै सामुदायिक बिद्यालयमा विद्यार्थीहरुको आकर्षण घट्दै गएको, गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्ने, बाटो बन्न बाँकी क्षेत्रमा बाटो निर्माण हुनुपर्ने, टोल विकास समितिको भूमिका प्रभावकारी हुनुपर्ने, सामाजिक विकास, पर्यटन प्रवद्र्धन र पर्यावरणका लागि वजेट विनियोजन हुनुपर्ने लगायतका सहभागिले उठाएका थिए ।
सहभागिहरुका सुझाव, सल्लाह तथा प्रश्नका आधारमा आठ बुँदे साँझा सार्वजनिक प्रतिबद्धता घोषणा गरिएको छ । प्रतिबद्धतामा वडामा रहेका सबै संघ, संस्थाको विवरण वडाको तथ्याँकमा अभिलेखिकरण गर्ने, सामुदायिक बिध्यालयमा विद्यार्थीको आकर्षण बृद्धि गर्न र शिक्षाको गुणस्तर बृद्धि गर्न नियमित अनुगमन गर्ने, वडामा गठन भएका टोल विकास संस्थाको भुमिकालाइ प्रभावकारी बनाउने कुरा समेटिएको छ ।
यसैगरी, वडाभित्र रहेका तालतलैया, मठमन्दिर सार्वजनिक संरचनाको संरक्षण गर्न र पर्यटन विकासका लागि आवश्यक वजेट ब्यवस्थापन गर्ने, गौसालामा कार्यरत ग्वालाहरुको लामो समयदेखि मासिक तलव नपाएको गुनासो आएकाले समस्या समाधानका लागि सर्वपक्षिय छलफल गर्ने, बिधुतको पोल नभएको क्षेत्रमा पोल ब्यवस्थापनका लागि बिधुत कार्यालयसंग समन्वय गर्ने र वडाका सबै टोलमा आबश्यकताका आधारमा क्रमागत रुपमा बिकास निर्माणका कामहरु गर्दै जाने प्रतिबद्धता जनाइएको छ ।
सार्वजनिक सुनुवाईमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेबिका, आमा समुह, बिभिन्न टोल बिकास समितिका पदाधिकारी, सामुदायिक बन उपभोक्ता समिति र बिभिन्न बिद्यालयका प्रधानाध्यापक गरी १५० बढीको सहभगिता रहेको थियो ।
वडा नं. ५ का सचिव हुमाकुमारी डाँगीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको सार्वजनिक सुनुवाई कार्यक्रममा कार्यक्रममा वडा अध्यक्ष झगरु थारु, स्वास्थ्य चौकीका प्रतिनिधि नारायणी भण्डारी, बास नेपालका पूर्व अध्यक्ष मन भण्डारी, सहजकर्ता शिवकुमार वर्मालगायतले बोल्नुभएको थियो ।