नेपालगञ्ज, ३१ बैशाख । नेपालगञ्ज उपमहानगरपालिकाको सहकारी शाखाले सहकारी सुधार अभियान अन्तर्गत नगरका सहकारीहरुमा निरन्तर अनुगमन गरिरहेको छ ।
सहकारी संस्थालाई विधिसम्मत संचालनयोग्य बनाउन सशक्तिकरणको भूमिका निर्वाह गर्दै आएको आएको सहकारी शाखाले यस वर्ष पनि अनुगमन गरिरहेको शाखा प्रमुख प्रविण रानाले बताउनुभयो ।
अनुगमनका क्रममा आज शारदा उपभोक्ता सहकारी संस्थामा अनुगमन गरिएको छ । केही कैफियत भेटिएको उक्त सहकारीलाई सचेत बनाइएको र निर्देशन दिइएको रानाले बताउनुभयो ।
कार्यविधिहरु प्रचलित नियम कानुनसंग नबाझिने गरी बनाउन, कर्मचारी हाजिरी नियमित गर्न गराउन, कर्मचारीको तलब भत्ता प्रचलित कानुन बमोजिम समान पदका लागि समान गर्न, सदस्य शिक्षा तथा सदस्य भेटघाट नियमितरुपमा चलाउन निर्देशन दिइएको रानाले बताए ।
अनुगमन टोलीमा सहकारी शाखा प्रमुख राना, जिल्ला सहकारी संघका प्रवन्ध संचालक नवराज उपाध्याय, सहकारी शाखाकी तुलसा पन्थी आचार्य र नेपालगञ्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार नवीन गिरीको सहभागि हुनुहुन्थ्यो ।