नेपालगञ्ज, ३० बैशाख । सहकारी सुधार्ने अभियान अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकाको सहकारी शाखाले नगरभित्रका सहकारीहरुको अनुगमन थालेको छ ।
सहकारीहरुलाई विधिसम्मत संचालनार्थ सचेत बनाउँदै आएको सहकारी शाखाले यस वर्ष पनि अनुगमन गरिरहेको हो शाखा प्रमुख प्रविण रानाले बताउनुभयो ।
सहकारी शाखाले आज नेपालगञ्जको वडा नं. १० आदर्शनगरस्थित इन्द्रावती बचत तथा ऋण सहकारी संस्थाको अनुगमन गरेको थियो । केही त्रृटि भेटिएको उक्त सहकारीलाई सचेत बनाइएको छ । तर, समग्रमा उक्त सहकारीको अवस्था ’सुधारोन्मुख’ देखिएको शाखा प्रमुख रानाको भनाई छ ।
अनुगमनका क्रममा डकुमेन्टेशन व्यवस्थापन, कार्यविधि तथा ऐन–नियम निर्माण, खर्च कटौती लगायतका विषयमा उक्त सहकारीका प्रबन्ध सञ्चालक टि.बी थापालाई त्रृटि सच्च्याउन सुझाब दिइएको छ ।
अनुगमन टोलीमा नेपालगञ्ज उपमहानगरपालिका सहकारी शाखा प्रमुख राना, जिल्ला सहकारी संघका प्रवन्ध संचालक नवराज उपाध्याय, सहकारी शाखाका तुलसा पन्थी आचार्य, नेपालगञ्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार नवीन गिरीलगायतको सहभागिता थियो ।