कोहलपुर (बाँके), २२ बैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले छिटोछिटो सरकार हेरफेरका कारण मुलुक कठिन अवस्थावाट गुज्रिरहेको बताउनुभएको छ ।
नेपाली काँग्रेस बाँके क्षेत्र नं.१ र प्रदेश सभा ‘क’ र ‘ख’ को आज कोहलपुरमा आयोजित दोस्रो सम्मेलनलाई सम्वोधन गर्दै बरिष्ठ नेता कोइरालाले भन्नुभयो—‘पछिल्लो डेढ वर्षमा तीन पटक सरकार फेरबदल भएको छ, यस्तो अवस्था रहिरह्यो भने मुलुकको अवस्था संकटग्रस्त बन्दै जाने निश्चित छ ।’ उहाँको थप भनाई छ, ‘अब मुलुकलाई सही राजनीतिक दिशामा डोर्याउने हो भने काँग्रेस र एमाले मिल्नुको विकल्प छैन ।’ ‘
कार्यक्रममा काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले मुलुकको हितका लागि काँग्रेस सधै उत्तम विकल्प रहने गरेको छ भन्नुभयो । त्यस अवसरमा काँग्रेस केन्द्रीय सदस्यहरु दीपक गिरी, सञ्जय गौतम, गोपाल दहित, मधु आचार्य लुम्विनी प्रदेश सभापति अमरसिंह पुन, बाँके सभापति नारायणप्रसाद गौडेलले पनि बोल्नु भएको थियो ।
नेपाली काँग्रेसका क्षेत्रीय सभापति पोषण केसीको अध्यक्षतामा भएको सम्मेलनमा आर्थिक र सांगठनिक प्रतिवेदन पारित गरिएको थियो ।