नेपालगञ्ज, १७ बैशाख । नेपाली कांग्रेस बाँकेले सार्वजनिक सेवा प्रदायक कार्यालयहरुका बारेमा पछिल्लो समय ब्यापक जनगुनासो आइरहेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सभापति नारायणप्रसाद गौडेलले आज एक विज्ञप्ती जारी गर्दै छिटोछरितो र प्रभावकारी सेवा प्रवाह गर्नुपर्ने कार्यालयहरुमा ब्याप्त बेथिति, ढिलासुस्ती, अनियमितता र आर्थिक चलखेलका गुनासाहरु आउनुलाई दुर्भाग्यको विषय भएको बताउनुभएको छ ।
विज्ञप्तिमा सम्बन्धित सरोकारवालालाई सेवा प्रवाह छिटोछरितो, चुस्तदुरुस्त र गुनासोविहिन बनाउनका लागि विशेष चासो राख्न ध्यानाकर्षण समेत गराइएको छ ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्थाको अभ्यास भइरहेको देशमा कुनै पनि बहानामा जनताले पाउने सेवा सुविधा र अधिकार संरक्षणका सवालहरुलाई नजर अन्दाज गर्न मिल्दैन’—विज्ञप्तिमा भनिएको छ ।