नेपालगञ्ज, १६ बैशाख । बाँकेको राप्तीसोनारी गाउँपालिकाको नागरिक सन्तुष्टि सर्वेक्षण नतिजा सार्वजनिक गरिएको छ । सार्वजनिक सेवाको विषयमा बागेश्वरी असल शासन क्लब (बास) ले गरेको सर्वेक्षणको नतिजा सार्वजनिक गरिएको हो ।
गाउँपालिकाले प्रवाह गर्ने सेवाका विषयमा नागरिकहरुको अनुभुति मापन गर्न तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन नागरिक सन्तुष्टि सर्वेक्षण गरिएको बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले बताउनुभयो ।
तथ्यांक अनुसार, राप्तीसोनारी गाउँपालिकाको जनसंख्या ६६ हजार ४४५ रहेको छ । त्यसमध्ये पालिकाका सबै वडाका ८११ म्हिला र ६९९ पुरुष गरी एक हजार ५१० जनालाई सर्वेक्षणमा सामिल गरिएको थियो । कार्यक्रम अधिकृत बोहराका अनुसार, सर्वेक्षणमा १० वटा प्रश्न र तीन वटा उपप्रश्न सोधिएका थिए ।
आज सार्वजनिक गरिएको नतिजामा नागरिकहरु पालिकाको सेवा प्रवाह प्रति सकारात्मक देखिए पनि पालिका तथा वडाको योजना तर्जुमा प्रक्रियामा नागरिकको सहभागिता तथा पालिकाको समग्र विकास निर्माणको अवस्था लगायतको विषयमा सुधार गर्नुपर्ने देखिएको छ ।
नतिजा सार्वजनिक कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष मनिषा थारुले नागरिक सन्तुष्टि सर्वेक्षणले नागरिकहरुप्रति सेवा प्रवाहको विषयमा थप संवेदनशिल भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जीवन न्यौपाने र बासका कार्यक्रम प्रबन्धक मनप्रसाद भण्डारीले जनप्रतिनिधि र कर्मचारीले नतिजामुखि सेवा प्रवाह गर्नसक्नुपर्ने खाँचो रहेको औल्याउनुभयो ।
नतिजा सार्वजनिक कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिकाका सदस्य, विषयगत शाखा प्रमुख, वडा सचिवलगायत ५० बढीको सहभागिता रहेको थियो ।
२०८१÷०१÷१६