नेपालगञ्ज, ७ बैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपाल दहितले संगठन सुदृढीकरण काँग्रेसको मूलमन्त्र हुनुपर्नेमा जोड दिनुभएको छ ।
नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर १ ले आज कोहलपुरमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो लोकार्पण कार्यक्रममा केन्द्रीय सदस्य दहितले भन्नुभयो, ‘नेपाली जनता काँग्रेस मजबुत भएको हेर्न चाहन्छ, तसर्थ पार्टीका नेता कार्यकर्ताहरु एकताबद्ध भएर संगठन सुदृढीकरणमा लाग्नैपर्छ ।’
केन्द्रीय सदस्य दहितले स्वार्थी समूहको गठजोडवाट निर्माण भएको वर्तमान सरकार लामो समय नटिक्ने ठोकुवा गर्नुभयो ।
नेपाली काँग्रेस, बाँके क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसीको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका कार्यबाहक जिल्ला सभापति गोपालप्रसाद अधिकारी, लुम्बिनी प्रदेश सदस्य टेकनारायण भुषाल लगायतले बोल्नुभएको थियो ।