नेपालगञ्ज, ३० चैत । नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर २ ले ‘जनतासंग सम्वाद’ कार्यक्रम गर्ने भएको छ । पार्टी क्षेत्रीय कार्यसमितिको बैठकले नव बर्षको पहिलो दिन भोलि बैशाख १ गते उक्त कार्यक्रम गर्ने निर्णय गरेको हो ।
जनतासंग सम्वाद कार्यक्रम भोलि नेपालगन्ज उपमहानगरपालिकाको त्रिभुवन चौक र डुडुवा गाउँपालिकाको कम्दीस्थित मिलन चौकमा छुट्टाछुट्टै हुने भएको छ । दुबै कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री गगन थापाले जनतासंग दोहोरो सम्वाद गर्नु हुनेछ ।
पार्टी सचिव सुधांशु कोइरालाका अनुसार, बैशाख १ गते कम्दीको मिलन चोकमा दिउसो २ बजे र नेपालगञ्जको त्रिभुवन चोकमा अपरान्ह ४ बजे जनतासंग कार्यक्रम हुँदै । सोही दिन साँझ ६ बजे महामन्त्री थापाको प्रमुख आतिथ्यमा पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट र प्रेस युनियनद्धारा प्रकाशित नयाँ वर्षको क्यालेण्डर विमोचन गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी, महामन्त्री थापासंग बैशाख २ गते आइतवार नेपालगञ्जका व्यापारीले भेटघाट गर्ने बताइएको छ । भेटघाटको कार्यक्रम बिहान ८ बजे नेपालगञ्ज उद्योग बाणिज्य संघको सभाहलमा हुने सचिव कोइरालाले जानकारी दिनुभयो । त्यस्तै, बैशाख २ गते महामन्त्री थापाले बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको निरीक्षण गर्ने कार्यक्रम समेत रहेको बताइएको छ ।