नेपालगञ्ज, २१ चैत । बाँके प्रहरीले भन्सार छलेर नेपालगञ्ज ल्याइएको झण्डै साढे १० लाख मूल्य बराबरको अवैध सामग्री बरामद गरेको छ ।
वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले नेपालगन्ज वडा नं. ७ गगनगन्जमा रहेको असरफ अन्सारीको घरमा भण्डारण गरेर राखिएको रु १० लाख ४३ हजार मूल्य बराबरको लत्ताकपडा र भिटामिन औषधि बरामद गरेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डांगीले जानकारी दिनुभयो ।
अन्सारीको घर एक व्यक्तिले भाडा लिएको बताइएको छ । प्रहरीले घर भाडामा लिने व्यक्तिको नाम भने गोप्य राखेको छ ।
प्रहरीले ४४३ थान कुर्ता सुरुवाल र ‘गिनटप’ नामको भिटामिन क्याप्सुल बरामद गरेको जनाएको छ । बरामद सामग्री आबश्यक कारवाहीका लागि नेपालगञ्ज भंसार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी प्रवक्ता डांगीले बताउनुभयो ।