नेपालगञ्ज, १९ चैत । बाँकेको खजुरा गाउँपालिका वडा नं. ३ बीगाउँमा श्रीमान र श्रीमतीबीच भएको झगडामा दुबै जना गम्भीर घाइते भएका छन् ।
सोही स्थानका महेन्द्र रावल र श्रीमती रितासिंह ठकुरीका बीच आज सोमवार घरकै कोठामा झगडा भएपछि उनीहरु गम्भीर घाइते भएका हुन् ।
सामान्य झगडा हतियार प्रहारसम्म पुगेपछि दुवैजनालाई रक्ताम्य तथा बेहोसी अवस्थामा प्रहरीले अस्पताल पुर्याएको थियो । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डांगीका अनुसार, झगडाको सूचना पाएपछि प्रहरी पुगेर ढोका फोरेर हेर्दा दुवै जना बेहोस अवस्थामा भेटिएका थिए ।
दुवै जनाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । जिल्ला प्रहरी प्रवक्ता डांगीका अनुसार, दुबै जनाको अवस्था गम्भीर रहेको छ ।