नेपालगन्ज, १६ चैत । बर्दियाको ठाकुरद्वारामा वातावरण संरक्षण सम्बन्धी दुई दिने तालिम आज सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा बर्दियामा सञ्चालित ‘हरित अर्थतन्त्र परियोजना’ अन्तर्गत उक्त तालिम आयोजना गरिएको हो ।
वातावरण र हरित अर्थतन्त्रको महत्व, बढ्दो ग्लोबल वार्मिङ र जलवायु परिवर्तनले वातावरणमा पारेको नकारात्मक प्रभाव र त्यसको असरका बारेमा सहभागिलाई जानकारी गराउने उद्देश्यका साथ आयोजना गरिएको तालिममा राजापुर र ठाकुरबाबा नगरपालिकाका १५-१५ गरी कुल ३० जना युवतीको सहभागिता रहेको क्लबका अध्यक्ष रवि तुलाधरले जानकारी दिनुभयो ।
तालिम समापन समारोहमा प्रमुख प्रशिक्षक बर्दिया राष्ट्रिय निकुञ्जका सहायक वार्डेन बद्री विनोद दाहालले विद्यमान वातावरणीय कानून र यसको प्रभावकारी कार्यान्वयनसँगै समुदायकस्तरमा वातावरण संरक्षण गर्न तालिम सहयोगी हुनसक्ने धारणा राख्नुभयो ।
वार्डेन दाहालले तालिममा सहभागि युवतीहरु खुशी र उत्साहित भएको आफुले पाएको बताउदै हरित व्यापारका साथै वातावरण संरक्षणमा उनीहरुको भूमिका सशक्त हुनसक्ने विश्वास व्यक्त गर्नुभयो ।
सहभागि दिलकुमारी चौधरीको अध्यक्षतामा भएको तालिम समापन समारोहममा क्लबका प्रमुख संरक्षक परवेजअलि सिद्दिकी, वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङ र कार्यकारी निर्देशक साजिदअलि सिद्दिकीको पनि उपस्थिति थियो ।