नेपालगञ्ज, १६ चैत । बाँकेको राप्तीसोनारी गाउँपालिकामा साइकलको ठक्करवाट एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डांगीका अनुसार, उक्त गाउँपालिकाको वडा नं. ८ को भित्रि सडकखण्डमा साइकलको ठक्करबाट सोही स्थानका ६९ वर्षीय जुद्धबहादुर कुँवरको मृत्यु भएको हो ।
सो गाउँपालिकाको ओभरी गाउँबाट जिरो बजारतर्फ आउँदै गरेको साइकलले कुँवरलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते कुँवरको उपचारका क्रममा कोहलपुर शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले साइकल चालक स्थानीय १९ वर्षीय धनराज बुढाथोकीलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी प्रवक्ता डांगीले बताउनुभयो ।
यसैबीच, बाँके प्रहरीले नेपालगञ्जका विभिन्न स्थानवाट भंसार छलेर ल्याइएका सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनिटबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याएको सामान बरामद गरेको हो ।
प्रहरी टोलीले बरामद गरेको लेडिज कुर्ता सुरवाल, माउन्टेन ड्यु, टायल मार्बललगायत करिब रु. एक लाख ५७ हजार ८०० मूल्य बराबरको अवैध सामान आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा पठाइएको छ ।