नेपालगञ्ज, १० चैत । नेपालगञ्ज महोत्सवको सांगितिक कार्यक्रमले दर्शकको सहभागितालाई बढाउदै लगेको छ । स्थानीय तथा चर्चित राष्ट्रिय कलाकारलाई महत्वका साथ सहभागि बनाउने आयोजकको रणनीतिस्वरुप नै दर्शकको सहभागिता दिनहुँ बढदै गएको हो ।
लगातार भएको सार्वजनिक विदा र रङ्गहरुको पर्व होलीको पूर्व सन्ध्यामा आज शनिबारको सांगितिक कार्यक्रममा दर्शकहरुको सहभागिता उल्लेख्य रहेको थियो । आज चर्चित लोकदोहोरी गायिका टीका पुन र रुपा घर्तीमगरको गीतमा दर्शक छमछमी नाचेका थिए । त्यस्तै आरुसी मगरको आकर्षक नृत्यले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो । आजको सांगितिक कार्यक्रममा चर्चित र्यापर डोङ्ग आउने भनिएको थियो । तर, मञ्चमा उनलाई नपाएपछि दर्शकहरु केहि निराश बनेका थिए । आयोजकका अनुसार, र्यापर डोङ्गको स्वास्थ्यमा एक्कासी समस्या आएपछि उनलाई उपस्थिति गराउन नसकिएको हो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति(महिला उद्यमी समिति) बाँकेको आयोजक, महासंघ नेपालगन्ज नगरसमिति सहआयोजक, मुख्य प्रायोजक होटल बाटिका, प्रायोजक नेपाल टेलिकम तथा नेपालगन्ज उपमहानगरपालिका संरक्षक रहेको सातौं प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवंम पर्यटन महोत्सव चैत ६ गतेदेखि सञ्चालनमा आएको हो ।
चैत १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा भोलि चैत ११ गते अर्का चर्चित गायक प्रमोद खरेल, गायिका पूर्णकला विसी, मोडेल निशु श्रीपाली, गायिका एवम् उद्घोषिका शोभा त्रिपाठीको दमदार प्रस्तुती रहने आयोजकको दावी छ ।
सांगितिक कार्यक्रमका अलावा महोत्सवको थप आकर्षकमा थारु गाउँ, विभिन्न थरीका झुलाहरुलगायत स्थानीय उत्पादनका राम्राराम्रा वस्तुहरु समेत पाइने गरेको दर्शकहरुले बताएका छन् ।
महासंघ बाँकेका खड्काका अनुसार महोत्सवमा १७५ स्टल प्रर्दशनीमा राखिएकोछ । जसमध्ये व्यवसायिकका ९०, घरेलुका ५०, प्रायोजकका ८, थारु गाउँका १२ र होटल सम्बन्धि १५ स्टल रहेकाछन् । महोत्सव अवलोकनका लागि टिकटको मूल्य १०० राखिएको छ । विद्यार्थीहरुका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएकोछ । महोत्सवमा विहान १० बजेदेखि राति ८ बजेसम्म संञ्चालन हुने जनाइएको छ ।