नेपालगन्ज, ९ चैत । बाँके जिल्ला फुटबल संघले नेपालगञ्जमा आयोजना गरेको एन्फा कम्युनिटी कोचिङ कोर्ष आज शुक्रवार सम्पन्न भएको छ ।
चैत ६ देखि ९ गतेसम्म सञ्चालन भएको कोचिङ कोर्षमा बाँके, बर्दिया, सुर्खेत, दाङ, कैलाल, डोटी, कालिकोट, काठमाडौं लगायतका जिल्लाबाट ४३ जना फुटबल खेलाडीको सहभागिता रहेको थियो ।
कोर्ष समापन समारोहमा नेपालगञ्जका मेयर प्रशान्त विष्ट, बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् एन्फा केन्द्रीय सदस्य भोजराज शाही, एन्फाका पुर्व उपाध्यक्ष गोवर्धन सिंह सम्झना, राप्रपा नेपालका सहायक महामन्त्री तेजबिक्रम शाह, एन्फा कार्यवाहक प्राविधिक निर्देशक एवम् नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्का, एन्फा हेड अफ कोच एजुकेशन संजित सिंह, लगायतले सहभागिहरुलाई प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।
कोचिङ कोर्षमा एन्फा कार्यवाहक प्राविधिक निर्देशक एवम् नेपाली राष्ट्रिय फुटबल टिमका पुर्व कप्तान खड्का र एन्फा हेड अफ कोच एजुकेशन संजित सिंहले प्रशिक्षण दिनु भएको थियो ।
एन्फाले ५ वर्षदेखि एन्फा कम्युनिटी कोर्षको सुरुआत गरेको छ । बाँकेमा भैरहेको कोर्ष ३२औं ब्याच भएको बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्रीले बताउनुभयो ।