नेपालगञ्ज, ७ चैत । नेपाली कांग्रेसका पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १४औं स्मृति दिवसमा बाँके कांग्रेसले आज विहान नेपालगञ्जस्थित भेरी अस्पतालका विरामीलाई फलफूल वितरण गरेको छ ।
पार्टी जिल्ला सचिव सुधांशु कोइरालाका अनुसार, उक्त अस्पतालमा उपचाररत १०० जना विरामीलाई फलफूल वितरण गरिएको छ ।
त्यस अवसरमा पार्टीका कार्यवाहक जिल्ला सभापति गोपालप्रसाद अधिकारीले नेपाली राजनीतिमा कोइरालाको अतुलनीय योगदान रहेको चर्चा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रका नायक कोइरालाले सुरु गरेको शान्ति प्रक्रियालाई दिगोरुपमा व्यवस्थापन गर्नुपर्ने अहिलेको खाँचो रहेको छ भन्नुभयो ।
कार्यक्रममा उपसभापति कृष्णबहादुर कार्की, भेरी अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्रबहादुर शाह, मेडिकल सुपरीटेण्डेण्ट डा. पवनजंग रायमाझी लगायत कांग्रेस नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
गिरिजाप्रसाद कोइराला वि.स. १९८१ असार १८ मा जन्मिनु भएको हो । उहाँ चार पटके प्रधानमन्त्री हुनुभयो । कोइरालाको निधन २०६६ साल चैत्र ७ गते ८५ वर्षको उमेरमा काठमाडौंस्थित छोरी सुजाता कोइरालाको घरमा भएको थियो ।
सशस्त्र संघर्ष गरिरहेको तत्कालिन नेकपा माओवादीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउन गिरिजाप्रसाद कोइरालाको भूमिकालाई महत्वका साथ हेरिने गरिएको छ ।