नेपालगञ्ज, ७ चैत । नेपालगञ्जमा आज बुधवार पाटेबाघको छालासहित एक व्यक्ति पक्राउ परेका छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डांगीका अनुसार, सुर्खेत बराहताल गाउँपालिका वडा नं. २ पाक्मा निवासी २८ बर्षीय चन्द्रबहादुर कार्कीलाई पाँच फिट नौ इन्च लम्बाई र तीन फिट दुई इन्च चौडाईको एक थान पाटेबाघको छालासहित पक्राउ गरिएको हो ।
नेपालगञ्जको पुष्पलाल चोकस्थित रोयल महबुब होटलमा बसेका कार्कीलाई गोप्य सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डांगीले बताउनुभयो ।
यसैबीच, नेपालगञ्जमा ब्राउन सुगरसहित भारत बहराइच बस्ने सलिम र दांग तुलसीपुर वडा नं. ३ का वीरबहादुर बिकलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेवाट खटिएको प्रहरी टोलीले भारतको रुपइडिहाबाट नेपालगञ्ज ल्याउँदै गरेको अन्दाजी २५ ग्राम ब्राउन सुगरसहित उनीहरु पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा प्रहरीले आज बुधवार बिहान नेपालगन्ज वडा नं. १० को कार्यालय अगाडिबाट उनीहरुलाई पक्राउ गरिएको बताइएको छ । जिल्ला प्रहरी प्रवक्ता डांगीका अनुसार, पक्राउ गरिएका मध्ये भारतका सलिम डिलर सञ्चालक र बिक खरीदकर्ता हुन् ।