नेपालगञ्ज ६ चैत्र । सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सवको आज मङ्गलबारवाट सुरु भएको छ । लुम्बिनी प्रदेशका पूर्वमन्त्री कृष्णा केसी ‘नमूना’ले महोत्सवको औपचारिक उद्धाटन गर्नु भयो ।
महोत्सव उद्घाटनअघि सेतु विक चोकबाट निस्किएको विभिन्न बाजागाजा तथा लोकसंस्कृति झल्किने झाँकीसहितको र्यालीले नगर परिक्रमा गरि महोत्सवस्थल वाटरपार्कमा पुगेको थियो ।
आर्थिक गतिविधिलाई चलायमान गर्ने उद्देश्यका साथ नेपालगन्जको वाटरपार्कमा उक्त महोत्सव आयोजना गरिएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका अध्यक्ष मधुकुमारी खड्काको अध्यक्षतामा भएको महोत्सव उद्धाटन समारोहमा महासंघ नेपालगञ्ज नगर समितिका अध्यक्ष अध्यक्ष डिला शाहले स्वागत मन्तब्य राख्नुभएको थियो ।
महासचिव जीआर भुसालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री कृष्णा केसी ‘नमूना’, लुम्बिनी प्रदेश सभा सदस्य मीना श्रेष्ठ, नेपालगञ्जका पूर्व उपमेयर उमा थापामगर, नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय अध्यक्ष उमेशप्रकाश सिंह लगायतले आर्थिक गतिविधि चलायमान गराउन यस्ता खाले महोत्सव कोषेढुङ्गा सावित हुने बताउनुभयो ।
अध्यक्ष खड्काका अनुसार महोत्सवमा १७५ स्टल बुक भइसकेका छन् । जसमध्ये व्यवसायिकका ९०, घरेलुका ५०, प्रायोजकका ८, थारु गाउँका १२ र होटल सम्बन्धि १५ स्टल रहेका छन् । महोत्सव अवलोकनका लागि टिकटको मूल्य रु १०० राखिएको छ । विद्यार्थीहरुका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति (महिला उद्यमी समिति) बाँकेको आयोजना, महासंघ नेपालगञ्ज नगरसमितिको सहआयोजक रहेको महोत्सवलाई मुख्य प्रायोजक होटल बाटिका र प्रायोजक नेपाल टेलिकमले गरेको छ भने संरक्षकमा नेपालगन्ज उपमहानगरपालिका रहेको छ ।
चैत १८ गतेसम्म सञ्चालन हुने महोत्सवका समयमा होली पर्ने भएकाले चैत १२ गते होली उत्सव कार्यक्रम राखिएको छ । होली उत्सवका दिन नेपाली सिने जगतका ख्याती प्राप्त कलाकार पल शाहलाई आमन्त्रण गरिएको छ ।
तराई क्षेत्रमा गर्मी बढ्न थालेको अवस्थालाई ध्यानमा राखेर महोत्सव साँझ ८ बजेसम्म सञ्चालन हुने जनाइएको छ । महोत्सवमा रु दुई करोड बढीको कारोबार तथा दुई लाख बढी दर्शक अवलोकन गर्न आउने अपेक्षा गरिएको छ ।
महोत्सवको दोस्रो दिन भोलि मंगलवार ज्योती मगरको प्रस्तुती हुने भएको छ । ज्योती मगरका साथ गायक कमल विसी ‘माल्दाई’ र सपना शाहीको प्रस्तुती रहनेछ भने पुरुषोत्तम सापकोटा र रुपा घर्तीमगरको जोडीले कार्यक्रम सञ्चालन गर्नेछन् ।