नेपालगञ्ज, ३ चैत । नेपालगञ्जमा लुम्बनी प्रदेशस्तरीय ’सहकारी संस्थाः समस्या, समाधान र सुशासन प्रबर्द्धन’ विषयक कार्यशाला गरिएको छ ।
दुई दिनसम्म चल्ने उक्त कार्यशाला भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय समस्याग्रस्त सहकारी व्यवस्थापन समिति काठमाण्डौको आयोजनामा भएको हो ।
कार्यशाला उद्घाटनका अवसरमा सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले सहकारीप्रति गुम्दै गएको विश्वास फर्काउन सुशासन प्रबद्र्धन आवश्यक रहेको बताउनुभयो । दाहालले भन्नुभयो, ‘समस्यामा रहेका सहकारीहरुको व्यवस्थापन गरेर उत्कृष्ट कार्य गरिरहेका सहकारीहरुलाई प्रोत्साहन गर्न आवश्यक रहेको छ ।’
त्यस अवसरमा बाँके जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, शिवराज नगरपालिका कपिलबस्तुका उपप्रमुख शिवकुमारी चौधरी, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सहकारीको विग्रँदो अबस्था र खस्किँदो छविलाई उकास्न सरोकारवाला सबै गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।
लुम्बिनी प्रदेशका स्थानीय सरकारका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सहकारी शाखा प्रमुखहरुको सहभागिता रहेको कार्यशालामा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले नेपालगञ्जमा सहकारीको स्थिति, सकारात्मक पक्ष, समस्या र समाधानका विषयमा विश्लेषणात्मक प्रस्तुति गर्नुभएको थियो । खड्काका अनुसार, नेपालगञ्जका ११३ सहकारी मध्ये ७० वटा सक्रिय रहेका छन् ।