बर्दिया, ३ चैत । बर्दियाको ठाकुरद्वारामा आयोजित व्यावसायिक सीप तथा लघु उद्यमशीलता विकास सम्बन्धि पाँच दिने क्षमता विकास तालिम सम्पन्न भएको छ ।
प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा बाँके युनेस्को क्लबको कार्यक्रम हरित अर्थतन्त्र परियोजना अन्तर्गत तालिम सञ्चालन गरिएको हो ।
बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिकाका ३० जना कृषि व्यवसायीहरुको सहभागिता रहेको सो तालिममा हरित व्यापार र वर्मी कम्पोस्ट बनाउने विधि, अर्गानिक तरकारी खेती र हस्तकला लगायत लघुउद्यम सम्बन्धी व्यवहारिक ज्ञान दिइएको क्लबका प्रमुख संरक्षक प्रवेजअलि सिद्दिकीले बताउनुभयो ।
तालिममा प्रशिक्षक राजबहादुर चौधरीले उद्यम विकास, आयआर्जन, स्वरोजगार, आत्म–विश्लेषण, आत्मविश्वास, जोखिम लिने क्षमता अभिवृद्धि र यसको न्यूनीकरणका उपायहरूका बारेमा प्रशिक्षण दिनुभएको थियो ।
त्यस्तै सफल उद्यमीको विशेषता, सिर्जनशीलता, बजार व्यवस्थापन र बजारीकरण, व्यवसाय योजना तर्जुमा र व्यवसायिक योजनाको परिचय, व्यवसाय स्थापनाका लागि उपयुक्त स्थान, लक्षित बजार क्षेत्र, उत्पादन प्रक्रिया र अत्यावश्यक कच्चा पदार्थ तथा श्रम लागतसहितको बारेमा पनि सहभागिलाई ज्ञान दिइएको थियो ।
तालिम समापन समारोहमा क्लबका प्रमुख संरक्षक प्रवेजअलि सिद्दिकी, अध्यक्ष रबिकुमार तुलाधर, वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङ र कार्यकारी निर्देशक साजिदअलि सिद्दिकीले सहभागिहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।