नेपालगञ्ज २ चैत्र । यही चैत ६ गतेदेखि १८ गतेसम्म नेपालगञ्जमा हुने सातौ प्रादेशिक महोत्सवको तयारी तिव्र पारिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेले महोत्सव आयोजना गर्न लागेको हो ।
लुम्बिनी प्रदेश अन्तर्गत जिल्लाका आर्थिक गतिविधि थप सशक्त तथा चलायमान बनाउने उद्देश्यका साथ महोत्सव गर्न लागिएको महासंघ बाँके अध्यक्ष मधु खड्काले बताउनुभयो ।
‘उत्पादन र वस्तु मेरै नेपालको’ नारा रहेको औद्योगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवम् पर्यटन महोत्सव नेपालगञ्जको वाटरपार्कको खुल्ला मैदानमा हुनेछ ।
अध्यक्ष खड्काका अनुसार, महोत्सवमा करिब रु दुई करोडको कारोबार हुने अनुमान गरिएको छ । । अध्यक्ष खड्काले भन्नुभयो,‘घरेलु स्थानीय स्रोतको सदुपयोग गरी उत्पादन गरिएका वस्तुको बजारमा दिगो पहुँच स्थापित गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरेका हौं ।’
महोत्सव मूल आयोजक समितिका संयोजक समेत रहनु भएका अध्यक्ष खड्काले नवीनतम् प्रविधिजन्य उत्पादनहरुका साथै महिला र स्थानीयस्तरमा उत्पादित वस्तुहरुको ३०० बढी स्टल महोत्सवमा राखिने छन् भन्नुभयो ।
झण्डै दुई लाख दर्शक भित्राउने लक्ष्य रहेको महोत्सवमा सांस्कृतिक कार्यक्रमलाई पनि ध्यानमा राखिएको छ । महोत्सवमा नेपालका ख्याती प्राप्त राष्ट्रिय एवम् स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने महासंघका महासचिव आर. के. भुसालले बताउनुभयो ।
यसैबीच, महोत्सव तयारीका सम्बन्धमा सुझाव संकलन गर्न महासंघले आज शुक्रवार सरोकारवाला पक्षसंग अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा सहभागिहरुले प्रदेश क्षेत्रको व्यापार, व्यवसायको पहिचानका साथै उत्पादित वस्तुको बजारीकरणमा महोत्सवले फलदायी सिद्ध हुने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा नाट्टा बाँकेका अध्यक्ष श्रीराज सिग्देल, जिल्ला कृषि संघ बाँकेका अध्यक्ष लोकेन्द्र चन्द, महासंघ लुम्बिनी प्रदेश महिला उद्यमी समितिका वरिष्ठ उपाध्यक्ष शर्मिला खत्री, प्रदेश सदस्य सतिश अधिकारी, नेपाली उपभोक्ता संरक्षण महासंघ बाँकेका उपाध्यक्ष रुपा ओझा लगायतले बोल्नुभएको थियो ।