- नेपालगञ्ज, ९ फागुन । यही फागुन १३ देखि १९ गतेसम्म नेपालगञ्जका ४२ हजार बढी बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइँदैछ । नेपालगञ्जका सबै २३ वडामा ९ महिनादेखि १५ वर्षमुनिका ४२ हजार २७० बालबालिकालाई खोप लगाउने तयारी गरिएको नेपालगञ्ज उपमहानगरपालिका कार्यालयको स्वास्थ्य महाशाखाले जनाएको छ । खोप लगाउन स्वास्थ्यकर्मीलाई तालिम दिइएको छ ।
खोप लगाउन वडाका कम्तीमा तीन सामुदायिक विद्यालयलाई खोप केन्द्र तोकिएको छ । स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दका अनुसार, खोप लगाउन आउन प्रत्येक घरका अभिभावकलाई निमन्त्रणा कार्ड पनि पठाइनेछ । गत वर्षको मंसिर ३ गतेदेखि पुस १५ गतेसम्म नेपालगञ्जमा दादुराको महामारी फैलिएर एक जना बालकको ज्यान गएको थियो भने २१४ बालबालिका संक्रमित भएका थिए । महामारी फैलिनासाथ त्यसबेलाको खोप अभियानमा शतप्रतिशत बालबालिकाले खोप लगाएको बताइएको छ ।
सरकारी तथ्यांक अनुसार नेपालमा ४ प्रतिशतले खोप लगाएका छैनन् भने १६ प्रतिशतले आंशिक खोप मात्र लगाएका छन् ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.