नेपालगञ्ज, ८ फागुन । अल्पसंख्यक समुदायका सवाललाई स्थानीय सञ्चार माध्यममा उठान गर्नुपर्नेमा मिडियाका सम्पादकहरुले जोड दिएका छन । अल्पसंख्यक समुदायका मुद्दा गम्भिर र संवेदनशिल भएको औल्याउदै सम्पादकहरुले उनीहरुका सवालमा सशक्त भएर कलम चलाउन आवश्यक रहेको धारणासमेत राखेका छन् ।
द एशिया फाउण्डेशनको सहयोगमा सञ्चालित सूचना तथा मानवअधिकार केन्द्र (आइएचआरसी) को नागरिक समाज र सञ्चार परियोजना अन्तर्गत नेपालगञ्जमा भएको समिक्षा बैठकमा नेपाल पत्रकार महासंघका पूर्व सभापति तथा गोरेटो अनलाईनका सम्पादक तथा प्रकाशक नीरज गौतमले पत्रकारिता रमाउनेका लागि होइन, यो त संघर्ष गर्नसक्ने, बिचार प्रवाह गर्नसक्ने, समाजको असल चरित्र निर्माण गर्न सक्नेका लागि हो भन्नुभयो ।
महासंघका पूर्व अध्यक्ष तथा सम्पादक झलक गैरे, अवधी पत्रकार संघका संस्थापक अध्यक्ष सुर्यलाल यादव, कालपृष्ठ दैनिकका सम्पादक कमल खत्री र बागेश्वरी अनलाईन डटकमका सम्पादक नवीन गिरीले सञ्चारमाध्यम सबैको साझा प्लेटफर्म बन्न सक्यो भने मात्र समाजमा पछाडी पारिएका र विभेदीकरणमा परेको समुदायले न्याय पाउन र उनीहरुको बोली मुखरित हुनसक्छ भनुभयो ।
यस्तै, परियोजना अन्तर्गत आठ महिनासम्म सञ्चालन भएको ‘फेलो’ कार्यक्रममा लुम्बिनी प्रदेशको बाँके, बर्दिया, दाङ्ग, कपिलवस्तु र रुपन्देही जिल्लावाट थारु, मुस्लिम, सीमान्तकृत र मधेशी समुदायबाट १५ जनाको प्रतिनिधित्व गराइएको थियो ।
पत्रकार कृष्ण अधिकारीले सहजीकरण गर्नुभएको समिक्षा फेलो कार्यक्रममा पत्रकार शुक्रऋषि चौलागाई, युवराज पाण्डे, बिजय बर्मा, एकराज चौधरी, विमला चौधरी र रुपा गहतराजले मेन्टरसिपको जिम्मेवारी पाउनुभएको थियो ।
उक्त कार्यक्रमको आज समापन गरिएको छ । समापन समारोहमा लुम्विनी प्रदेशका कृषि तथा सहकारी मन्त्री भण्डारीलाल यादवले अल्पसंख्यक समुदायका मुद्दालाई सोही समुदायका व्यक्तिले मात्र भित्रैवाट उठान गर्न सक्ने भएकाले सञ्चार क्षेत्रमा उनीहरुको बढीभन्दा बढी सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।
सूचना र मानवअधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजीत तिवारीको सभापतित्वमा भएको समापन समारोहमा केन्द्रका कार्यकारी निर्देशक राकेश मिश्र, कार्यकारी प्रमुख रविन्द्र ज्ञवाली लगायत फ्ेलोहरुले आफ्ना विषयमा रिर्पोटिङ गर्दाको अनुभव राखेका थिए ।
कार्यक्रममा दि एशिया फाउण्डेन बुटवल कार्यालयका एन्जिना पन्थी र रघु रानाको विशेष उपस्थिति रहेको थियो ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.