नेपालगञ्ज, २९ माघ । पन्ध्रौ १५औं बाँके जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० को उपाधि कोहलपुर नगरपालिकाले जितेको छ । यो जितसंगै कोहलपुरले ह्याट्रिक गरेको हो । यसअघि कोहलपुरले पहिलो स्थानसहित लगातार दुईपटक उपाधि जितिसकेको छ । प्रतियोगितामा जिल्लाका ७ वटा स्थानीय तहबाट छनोट भएर आएका करिब एक हजार खेलाडीबीच ६ वटा विधाका खेलमा प्रतिस्पर्धा गराइएको थियो ।
कोहलपुरले ३६ गोल्ड, ९ सिल्भर र ५ ब्राउन्ज मेडल हात पारेको छ । दोस्रो हुने राप्तीसोनारी गाउँपालिकाले १३ गोल्ड, १७ सिल्भर र २० ब्राउन्ज मेडल जितेको छ । यस्तै, नेपालगञ्ज उपमहानगरपालिकाले ७ गोल्ड, ६ सिल्भर र ६ ब्राउन्ज मेडलसहित तेस्रो भएको छ ।
प्रतियोगितमा कबड्डी छात्रातर्फ खजुराकी सुषमा बादी र छात्रतर्फ नेपालगञ्जका इसरारअलि साई, तेक्वान्दोको छात्रातर्फ कोहलपुरकी दिपशिखा रानाभाट र छात्रतर्फ कोहलपुरकै सुर्वण सिग्देल, कराँतेको छात्रातर्फ बैजनाथकी बबिता विक, छात्रतर्फ कोहलपुरका शुभम बुढा तथा उसुको छात्रातर्फ कोहलपुरकी गरिमा चौधरी र छात्रतर्फ कोहलपुरकै टार्जन रोकामगरलाई पनि उत्कृष्ट खेलाडीको पुरस्कार प्रदान गरिएको छ । मार्चपासमा बैजनाथ गाउँपालिका प्रथम, नेपालगञ्ज द्धितिय र राप्तीसोनारी गाउँपालिका तृतिय भएका छन् ।
प्रतियोगिता समापन समारोहमा लुम्बिनी प्रदेश सांसद माया पुन, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष संदीपजङ्ग शाह, नेपाली काँग्रेस बाँकेका सचिव सुधांशु कोइराला, एमालेका मीन बहादुर मल्ललगायतका महानुभावहरुले विजयी खेलाडी तथा पालिकालाई शिल्ड, कप तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
जिल्लास्तरीय प्रतियोगितावाट छनोटमा पर्ने खेलाडीहरुले फागुन ११ देखि १३ गतेसम्म वुटवलमा हुने लुम्बिनी प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउने छन् ।