नेपालगञ्ज, २६ माघ । बाँकेको खजुरा गाउँपालिकामा कार्यरत राष्ट्रसेवक कर्मचारी लिलाराज धामीलाई आक्रमण गरी कुटपिट गरेको घटनाप्रति नेकपा एमाले, बाँके खजुरा गाउँपालिका कमिटी भत्र्सना गरेको छ । कमिटि अध्यक्ष गेहेन्द्र धितालद्धारा आज प्रकाशित विज्ञप्तिमा घटनाका दोषीमाथि कारवाहीको मागसमेत गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ—‘ खजुरा गाउँपालिका वडा नं. ६ मा रहेको भानु माध्यमिक विद्यालयमा माटो पटान योजनाको कार्यसम्पन्न प्राविधिक मूल्यांकन गर्न जानुभएका लिलाराज धामीमाथि खजुरा गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष गरिबे शेषले भौतिक रुपमा आक्रमण गरी कुटपिट गरेकोले सो कार्यको एमाले घोर भत्र्सना गर्दछ ।’
माघ २४ गते घटाइएको कुटपिटको उक्त घटनाले राष्ट्रसेवक कर्मचारीहरुको मनोवल कमजोर भएकोमा कुनै हालतमा पनि मनोवल कमजोर नगर्न, सत्य र नियम कानुन सम्मत कार्य गर्न आग्रह गरिएको छ ।
‘राष्ट्रसेवक कर्मचारीले नियमित र कानूनले प्रदान गरेको कार्य गर्दा कार्यस्थलमा कुटपिट गर्नु, गालीगलौज गर्नु र अनावश्यक धम्की दिनु कुनै हालतमा क्षम्य हैन् । वडाध्यक्षले यस प्रकारको कार्य गर्नु गैर जिम्मेवारी, पदीय हैसियतको दुरुपयोग, मानव अधिकारको उल्लंघन र मानवीय कार्य विपरित हो’—विज्ञप्तिमा भनिएको छ ।
प्रेस विज्ञप्तिमा भनिएको छ—‘वडाध्यक्ष आफै वडा नं. ६ मा रहेको भानु माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनु अझै गैर जिम्मेवारी हो । उहाँ वडा नं. ५ को जनप्रतिनिधि निर्वाचित हुनुहुन्छ तर वडा नं. ६ मा रहेको विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष हुनु समेत पदीय दुरुपयोग हो भन्ने हाम्रो ठहर रहेको छ ।’
यसअघि पनि पालिकाका जनप्रतिनिधिले कर्मचारी र सेवाग्राहीलाई आफु अनुकुलको कार्य गर्न दवाव दिने, प्रभाव पार्ने र धम्की दिने कार्य भईरहेको घटना प्रति पनि हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँदै पीडित कर्मचारीलाई न्याय दिन सम्बन्धित सरोकारवाला पक्षसँग जोडदार माग गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ ।