नेपालगञ्ज, २७ माघ । बाँकेको डुडुवा गाउँपालिकाले सरसफाई अभियान संचालन गरेको छ । गाउँपालिकाले साताको प्रत्येक शुक्रबार सबै कार्यालयको सरसफाई गर्ने अभियान सुरु गरेको हो ।
पालिका माताहतका वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालयलगायतका सबै कार्यालयमा सरसफाई गर्न सुरु गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार हप्ताको एकदिन कार्यालयको सरसफाई गरिने छ ।
अध्यक्ष चौधरीले भन्नुभयो,–‘जुनसुकै काम आफैबाट सुरुआत गर्नुपर्दछ, त्यसैले हामीले आफ्नै कार्यालयबाट सरसफाई सुरु गरेका छौ’, ‘यो अभियानलाई पालिकाका सम्पूर्ण नागरिकहरु समक्ष सन्देश प्रवाह हुनेछ र उनीहरुले पनि आ–आफ्नो घर वरिपरि तथा गाउँटोलको सरसफाई गर्ने विश्वास लिएका छौ’—अध्यक्ष चौधरीको भनाई छ ।
अभियान शुभारम्भ कार्यक्रममा अध्यक्ष चौधरी, उपाध्यक्ष शाहिदा बानो, प्रमुख प्रशासकिय अधिकृत गिरबहादुर सेजुवाललगायत जनप्रतिनिधि र कर्मचारीले बनकट्टीस्थित पालिकाको कार्यालय परिसरको सरसफाई गरेका थिए ।
यसैबीच बेतहनी स्वास्थ्य चौकीको पनि त्यहाका कर्मचारीहरुले सरसफाई गरेका छन । यस्तै, आज डुडुवा गाउँपालिका वडा नंं ५ का युवाहरुको सक्रियतामा राप्ती नदीको सिधँनियाघाट पुलको दक्षिण भागको समेत सरसफाई गरिएको छ । सरसफाई कार्यक्रममा वडाध्यक्ष झंकबहादुर थापालगायतको सहभागिता रहेको थियो ।