नेपालगञ्ज, २४ पुस । लुम्बिनी प्रदेशस्तरीय महिला उद्यम प्रदर्शनी आजदेखि नेपालगञ्जमा शुरु भएको छ । आठौं संस्करणको उक्त प्रदर्शनीको नेपालगञ्जका मेयर प्रशान्त विष्ट र महिला उद्यमी महासंघ नेपाल अध्यक्ष शोभा ज्ञवालीले संयुक्तरुपमा उद्घाटन गर्नुभयो । महिला उद्यमी संघ, बाँकेले आयोजना गरेको प्रदर्शनीमा महिला उद्यमी उत्पादनका ६५ बढी स्टल राखिएका छन् ।
नेपालगञ्जको प्रसिद्ध शक्तिपीठ बागेश्वारी मन्दिर परिसरमा रहेको उक्त प्रदर्शनी यही पुस २८ गतेसम्म संचालन हुने जनाइएको छ । प्रदर्शनीमा मुख्यतया स्थानीयस्तरमा महिला उद्यमीको कृषि, कपडाहरु, खाद्यान्न परिकार, हस्तकला, काष्ठकला लत्ताकपडा, कमपोष्ट मल लगायत उत्पादनका स्टल रहेको संघका बाँके जिल्ला अध्यक्ष सावित्रा पोखरेलले जानकारी दिनुभयो । अध्यक्ष पोखरेलका अनुसार, प्रदर्शनीका लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका केहि जिल्लाका महिला उद्यमीहरुलाई पनि स्थान दिइएको छ ।
प्रदर्शनी अवधिमा महिला उद्यमीहरुको समस्या र चुनौति विषयमा सरोकारवाला निकायका प्रतिनिधिसंग अन्तरक्रिया कार्यक्रम राखिएको छ भने सफल महिला उद्यमीका आत्मवृत्तान्त प्रस्तुत हुने बताइएको छ । प्रदर्शनमा राखिएका स्टल मध्ये बाँकेबाट र बाहिरीका १÷१ जनालाई पुरस्कृत गरिने अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । यो प्रदर्शनीवाट महिला उद्यमीको स्थानीय उत्पादनलाई बजारीकरण गर्न समेत प्रदर्शनी सफल हुने विश्वास लिइएको छ ।