नेपालगञ्ज, २३ पुस । नेपालगञ्जमा महिला उद्यमीहरुद्धारा उत्पादित वस्तुको प्रदर्शनी हुने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा आठौं संस्करणको प्रदर्शनीका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोग, केएल दुगडको मुख्य प्रायोजन र महिला उद्यमी महासंघ नेपालसँगको सहकार्यमा महिला उद्यमी संघ, बाँकेले प्रदर्शनी आयोजना गर्न लागेको हो ।
पत्रकार सम्मेलनमा महिला उद्यमी संघ बाँकेका अध्यक्ष सावित्रा पोखरेलले यसपटकको प्रदर्शनीमा लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदुरपश्चिमका केहि जिल्लाका महिला उद्यमीलाई समेत स्थान दिइएको जानकारी दिनुभयो । प्रदर्शनीको नेपालगञ्जका मेयर प्रशान्त विष्टले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
‘महिला उद्यमीहरुको उत्पादनलाई बजारीकरण गर्दै उनीहरुमा रहेको सीप, क्षमता र शंक्तिलाई देशको आर्थिक विकासमा रुपान्तरण गर्ने प्रदर्शनीको उद्देश्य रहेको छ’—संघका अध्यक्ष पोखरेलले भन्नुभयो । पोखरेलले महिला उद्यमीको स्थानीय उत्पादनलाई बजारीकरण गर्न समेत प्रदर्शनी सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपालगञ्ज वडा नं. २ स्थित बागेश्वरी मन्दिर परिसरमा प्रदर्शनीस्थलको व्यवस्था गरिएको छ । प्रदर्शनी यही पुस २८ गतेसम्म चल्ने जनाइएको छ । प्रदर्शनीमा मुख्यतया स्थानीयस्तरमा महिला उद्यमीको कृषि, कपडाहरु, खाद्यन्न परिकार, हस्तकला, काष्ठकला लत्ताकपडा, कमपोष्ट मल लगायतका उत्पादनका ६५ बढी स्टल राखिने छन् ।
प्रदर्शनीकै अवधिमा महिला उद्यमीहरुको समस्या र चुनौति विषयमा सरोकारवाला निकायका प्रतिनिधिसंग अन्तरक्रिया कार्यक्रम राखिएको छ भने सफल महिला उद्यमीका आत्मवृत्तान्त प्रस्तुत हुने बताइएको छ । प्रदर्शनमा राखिएका स्टल मध्ये बाँकेबाट र बाहिरीका १÷१ जनालाई पुरस्कृत गरिने अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।