नेपालगन्ज, १८ पुस । नेपालगन्ज सेन्ट जेभियर्स स्कुलले प्रथम किशोरसिंह राठौर यु–१६ कप क्रिकेट प्रतियोगिताको फाइनल खेल्न नपाउने भएको छ । प्रतियोगिताको नियम विपरित खेलाडी खेलाएको भन्दैं उक्त स्कुललाई फाइनल खेल्नवाट बञ्चित गरिएको हो ।
फाइनलमा नेपालगन्ज सेन्ट जेभियर्स र मंगल प्रसाद उच्च मावि पुगेका थिए । तर, सेन्ट जेभियर्सले बढी उमेरका खेलाडी र अन्य विद्यालयमा अध्ययन गरिरहेका खेलाडीलाई खेलाएको पुष्टि भएपछि यस्तो निर्णय गरिएको आयोजक ज्योति स्पोर्टस् एकेडमीले जनाएको छ । प्रतियोगिताको फाइनल खेल अब मंगलप्रसाद उच्च मावि र नेपालगन्ज मोडेल एकेडेमीबीच हुनेछ । नेपालगन्ज सेन्ट जेभियर्सले मंगलबार भएको दोस्रो सेमिफाइनलमा नेपालगञ्ज मोडेल एकेडेमीलाई ७ विकेटले हराउँदै फाइनल प्रवेश गरेको थियो ।