नेपालगञ्ज, १६ पुस । नेपालगञ्जमा भइरहेको प्रथम किशोरसिंह राठौर यु–१६ कप क्रिकेट प्रतियोगिताको फाइनलमा मंगलप्रसाद उच्च माविले प्रवेश पाएको छ ।
आज भएको सेमिफाइनल खेलमा आदर्श स्कुललाई ३८ रनले पाखा लगाउदै मंगलप्रसाद माविले फाइनलमा प्रवेश पाएको हो । भोलि नेपालगञ्ज सेन्ट जेभियर्स र नेपालगञ्ज मोडेल एकेडेमीबीच सेमिफाइनलको प्रतिस्पर्धा हुनेछ ।
नेपालगञ्जस्थित मंगलप्रसाद उच्च माविको मैदानमा भएको आजको खेलमा मंगलप्रसादले बनाएको १ सय २८ रनको चुनौति आदर्शले पूरा गर्न सकेन् । आदर्श ९० रनमै अलआउट भएको थियो । मंगल प्रसादका लागि मोहम्मद अबु साहेमा खानले २८ रन, साहिल शेख र सागर केवटले १८–१८ रन बनाए । आदर्शका जीवन बटाला र समिर थापाले २–२ विकेट लिएका थिए । आदर्शका टोपेन्द्र रोकायले १८ रन र बिशाल खत्रीले १७ रन बनाएका थिए ।
मंगल प्रसादका अजय घसियारा, फरहान शेख र अजाम खानले २–२ विकेट लिए । आजको खेलमा मंगल प्रसादका मोहम्मदअबुलाई म्यानअफ द म्याचको पुरस्कार प्रदान गरिएको थियो । ब्राइटल्यान्ड स्कुलका प्रिन्सिपल विजय लामाले उक्त पुरस्कार प्रदान गर्नुभएको थियो ।