नेपालगन्ज, ८ पुस । सेन्ट जेभियर्स स्कुलले प्रथम किशोर सिंह राठौर यु–१६ कप क्रिकेट खेलमा फराकिलो जित निकालेको छ । नेपालगन्जस्थित मंगलप्रसाद उच्च माविको खेल मैदानमा भएको खेलमा सेन्ट जेभियर्सले ड्रिमल्यान्डलाई २ सय ६ रनको फराकिलो अन्तरले हराएको हो । पंकज केसीको शतकिय पारीसंगै जेभियर्सले २० ओभरमा २ सय ३५ रन जोडेको थियो । पंकजले ७० बल खेल्दै १९ चौका र ५ छक्का प्रहार गर्दै १ सय २८ रन बनाएका थिए । उनलाई प्लेयर अफ द म्याचको पुरस्कार दिइएको छ ।
सेन्ट जेभियर्सका सन्जोक थापाले २७ रन, शंक्तिजंग शाहीले १३ र सुशान्त रानाले १० रन बनाए । ड्रिमल्यान्डका हेमन्त सार्की र आनन्द रावतले २–२ विकेट लिए ।
जितका लागि २ सय ३६ रनको लक्ष्यका साथ मैदानमा उत्रिएको ड्रिमल्यान्ड ६.५ ओभरमा २९ रन बनाएर अलआउट भएको थियो । ड्रिमल्यान्डका कुनैपनि खेलाडीले दोहोरो स्कोर जोडन सकेनन । सेन्ट जेभियर्सका पंकज केसी, शंक्ति जंग शाही, बिपिन खनाल र कमलेश गुप्ताले २–२ विकेट लिए ।
ज्योति स्पोर्टस एकेडेमीले आयोजना गरेको प्रतियोगिताको उद्घाटन शनिबार संघीय सांसद एवम् नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले गर्नुभएको थियो । प्रतियोगितामा बाँकेका १७ टिमको सहभागिता रहेको छ ।
उक्त प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार, उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर, उत्कृष्ट ब्याटसम्यानले ५÷५ हजार नगद पुरस्कार पाउने जनाइएको छ ।