नेपालगञ्ज, ७ पुस । बाँकेको खजुरा—४ ई गाउँमा आजदेखि शुरु भएको खुल्ला नकआउट फुटबल प्रतियोगिताको उद्धाटन खेलमा लुम्बिनी प्रदेश प्रहरी गण खजुराले न्यु दर्पण युवा स्पोर्टस् क्लबलाई शून्यका विरुद्ध दुई गोलले हराएको छ । स्थानीय बाजागाजा र साँस्कृतिक कार्यक्रमसहित लुम्विनी प्रदेश सभा सदस्य रत्न खत्रीले उक्त फुटबल प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । त्यस अवसरमा प्रदेश सभा सदस्य खत्रीले खेलकुदको विकासका आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
आयोजक न्यु दर्पण युवा स्पोर्ट्स क्लबका अध्यक्ष प्रकाश केसीको अध्यक्षतामा भएको प्रतियोगिता उद्धाटन समारोहमा नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाही, खजुरा गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष टेकबहादुर रोकाय, नेपालगञ्ज उद्योग बाणिज्य संघका एशोसियट सदस्य कमल कार्की, खजुरा गाउँपालिका खेलकुद विकास समितिका सदस्य सचिव छवी विष्ट, नेकपा एमालेका घननाथ खनाल र झगबहादुर पौडेल, नेपाली काँग्रेसका शंकर रावत, नेकपा माओवादी केन्द्रका राजकुमार विकलगायतले बोल्नु भएको थियो ।
पुस १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १७ टीमको सहभागिता रहेको छ । प्रतियोगिताका बिजेतालाई १ लाख, उपविजेतालाई ५१ हजारसहित प्रत्येक खेलको मेन अफ द म्याचलाई नगद पुरस्करको व्यवस्था गरिएको आयोजनाले जनाएको छ ।