नेपालगञ्ज, २३ मंसिर । नेपालगञ्जमा नेपाल विद्युत प्राधिकरणको रुख काट्ने कार्यको आलोचना भएको छ । तारलाई व्यवस्थित गर्न आज हुर्केका रुख काटिएपछि स्थानीय तह, स्थानीय प्रशासन तथा अभियन्तावाट त्यसको आलोचना भएको हो ।
प्राधिकरणले नेपालगञ्ज सदरलाइनस्थित अदालत अगाडिका १६ रुख काटेको छ । अनुगमनपछि नेपालगञ्जका मेयर प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहरा, हरित अभियन्ता र नागरिक समाजका प्रतिनिधिले रुख जथाभावी काटिएको बताएका छन् ।
‘हामी यसको कानुनी उपचार खोज्छौ’, मेयर विष्टले भन्नुभयो । यता , प्राधिकरणका मर्मत शाखा प्रमुख गणेश थापाले जोखिमपूर्ण अवस्थामा रहेका रुख मात्र काटिएको बताउदै, रुख नकाटे भोलिका दिनमा हुने ज्यानमालको क्षतिको जिम्मेवार को हुने ? प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो—‘समन्वय कोकोसंग गर्ने त्यो सम्भव हुँदैन । हामीले सूचना निकालेर नै रुख काट्ने गरेका छौ ।’