नेपालगञ्ज, २२ मंसिर । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाइदिन्छु भनि ठगी गर्ने एक व्यक्तिलाई बाँके प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बर्दिया ठाकुरबाबा नगरपालिका—८ का सुरेश चौधरीलाई पक्राउ गरेको हो । चौधरीले विभिन्न व्यक्तिसंग लाइसेन्स बनाइदिन्छु भनेर रकम लिइ ठगी गरेको जनाइएको छ ।
यस्तै, राष्ट्रिय अनुसन्धान विभागको जागिर लगाई दिन्छु भनि किर्ते जालसाजी गरेको अभियोगमा प्रहरीले नेपालगञ्ज—२२ का फहद खाँलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार, खाँले नेपालगञ्ज—१७ का प्रदिप वर्मासंग जागिर लगाइ दिन्छु भनि रकम असुल गरेका थिए ।
यसैबीच, भारतवाट अवैधरुपमा ल्याउदै गरेको राँगा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले बाँकेको डुडुवा गाउँपालिकाका—६ मन्सिपुरुवावाट चार जिउ राँगा नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार, गस्ती प्रहरी देखेपछि तस्करहरु राँगा छाडी भागेका थिए । नियन्त्रणमा लिइएका उक्त राँगा आवश्यक कारवाहीका लागि आजै नेपालगञ्ज भंसार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।