नेपालगन्ज, १९ मंसिर । नेपालगञ्ज उपमहानगरपालिकाले २३ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । २०औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।
मेयर प्रशान्त विष्ट र प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानपत्र र दोसल्सा प्रदान गरि सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा मेयर विष्टले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधा बढाउन आफु कटिवद्ध रहेको बताउनुभयो ।
सोही कार्यक्रममा उमेर हद पूरा भएका १० महिला स्वास्थ्य स्वयंसेविकालाई विदाई समेत गरिएको छ । ६० वर्ष उमेर पूरा गरेका महिला स्वास्थ्य स्वयंसेविकालाई ५० हजार दिएर विदा गर्नुपर्ने प्रावधान रहेको छ ।
नेपालगन्ज उपमहानगरपालिका, प्रदेश र संघीय सरकारले महिला स्वास्थ्य स्वयंसेविकालाई संचार, चाँडबाँड, यातायात खर्च तथा लुगा भत्ता वापत प्रत्येक वर्ष जनही रु २५ हजार ७०० दिदै आएको छ ।
नेपालगन्ज उपमहानगरपालिकामा अहिले १५६ महिला स्वास्थ्य स्वयंसेविका कार्यरत रहेका छन् ।