नेपालगञ्ज, १४ मंसिर । पुराना खेलकर्मी तथा मिस नेपालका आयोजक हिडन ट्रेजरका पूर्व अध्यक्ष सुवर्ण क्षेत्रीको संस्मरण पुस्तक ‘सपना, विश्वास र अठोट’ लोकार्पण गरिएको छ ।
काठमाडौंमा आज लोकार्पण गरिएको पुस्तकमा खेल पत्रकारिता, नेपाली खेलकुद, जेसिज यात्रा र मिस नेपाल प्रतियोगिताका संस्थापकका रुपमा उहाँको अनुभवहरु रोचक ढंगले प्रस्तुत गरिएको छ । नेपालले पहिलो पदक जितेको अन्तर्राष्ट्रिय प्रतियोगिता एसियाली खेलकुद (एसियाड) मा सेभ दि मिसन हुँदाको अनुभवलाई पनि क्षेत्रीले आफ्नो पुस्तकमा समेटनुभएको छ ।
क्रियटिभ बुक्सले प्रकाशन गरेको क्षेत्रीको उक्त पुस्तक उद्योगपति एवं साहित्यकार बसन्त चौधरी, प्रथम मिस नेपाल रुबी राणा, जेसिज नेपालका पूर्व अध्यक्ष गजेन्द्र श्रेष्ठ, वरिष्ठ पत्रकार पी खरेल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व कोषाध्यक्ष विष्णुगोपाल श्रेष्ठ, प्रकाशक टीएस ठकुरी र पुस्तकका सम्पादक जनक नेपालले संयुक्त रुपमा विमोचन गर्नुभएको थियो ।
नेपाली खेलाडीको आत्मकथा ‘ओलम्पियन’ बाट प्रकाशन आरम्भ गरेको क्रियटिभ बुक्सद्धारा प्रकाशित यो १२ औं पुस्तक भएको अध्यक्ष ठकुरीले जानकारी दिनुभयो ।