नेपालगञ्ज, १४ मंसिर । बाँकेको नरैनापुर गाउँपालिकाको वडा कार्यालयले यस वर्षदेखि वडा कार्यालयवाटै सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेका छन् । आज गाउँपालिकाको वडा नं. १ बाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको छ । यसअघि लक्ष्मी सनराइज बैंकवाट भत्ता बुभ्mनुपर्ने बाध्यात्मक व्यवस्था थियो ।
बैंकमा भीडभाड हुँदा रकम लिनका लागि घन्टौ कुर्नुपर्ने अवस्थाको अन्त्य भएपछि स्थानीयहरु खुशी भएका छन् ।
नरैनापुर गाउँपालिकाका अरु अधिकांश जेष्ठ नागरिक र अशक्तहरू वडामै बैंक नभएर पालिका स्थित रहेको बैंकमा जानु पर्दा विभिन्न सास्ती भोग्दै आएका थिए ।
बैंकका कर्मचारी, वडाका कर्मचारी र सुरक्षाकर्मीको सहयोगमा वडाबाटै भत्ता पाउन थालेपछि मूलतः अहिले पालिका भित्रका अशक्त, अपांगता भएका र जेष्ठ नागरिकहरूलाई अझ बढी सहज भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले बताउनुभयो ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले भन्नुभयो, ‘अशक्त, अपांगता भएका नागरिक, जेष्ठ नागरिकलाई सास्ती भएको देखेपछि वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण शुरु गरिएको हो ।’ उहाँका अनुसार, आगामी दिनमा टोल र घरघरमा गएर भत्ता वितरण गर्ने तयारी समेत भइरहेको छ ।
नरैनापुरमा सामाजिक सुरक्षा भत्ता लिनेको संख्या ३ हजार ४७० जना रहेको छ । सामाजिक शाखा प्रमुख जीवनलाल यादव, सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका एमआइएम अपरेटर गोविन्दप्रसाद गोडिया, फिल्ड सहायक सूरजकुमार श्रीवास्तव लगायतले भत्ता वितरण गरिरहेको गाउँपालिकाले जनाएको छ ।