नेपालगञ्ज, १ बैशाख । शैक्षिक सत्र २०८० का लागि बाँकेको नरैनापुर गाउँपालिकामा विद्यार्थी भर्ना अभियान शुरु गरिएको छ । ‘समयमै भर्ना, समयमै ज्ञान; गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ आजवाट अभियान शुरु गरिएको हो । गाउँपालिका अध्यक्ष इस्तियाकअहमद शाहका अनुसार, पालिकाका सबै ६ वडामा एकसाथ अभियान शुरु गरिएको छ । मुख्यतयाः विद्यालय जान नसकेका बालबालिकालाई भर्ना गर्ने उद्देश्यका विद्यार्थी भर्ना अभियान शुरु गरिएको अध्यक्ष शाहले बताउनुभयो ।
यसअघि गत मंगलबार गाउँपालिकामा बसेको शिक्षा समितिको बैठकमा अध्यक्ष शाहले विद्यार्थीहरुलाई टिकाउने गरी योजना बनाएर अगाडि बढन समितिका पदाधिकारी तथा कर्मचारीलाई निर्देशन दिनु भएको थियो । बैठकमा अध्यक्ष शाहले नामका लागि मात्र दर्ता गरिएका मदरसाहरुलाई खारेज गर्ने प्रतिबद्धता समेत जनाउनुभएको थियो ।
बैठकमा प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, योजना शाखा प्रमुख प्रकाश अधिकारी, शिक्षा शाखा प्रमुख कृष्ण थारुलगायतको उपस्थिति रहेको थियो ।
शिक्षा शाखा प्रमुख थारुका अनुसार, नरैनापुरका कूल ३० मदरसा र २१ बिद्यालयमा गरी झण्डै १२ हजार विद्यार्थी अध्यनरत रहेका छन् ।
यसैगरी, आजैवाट राष्ट्रियस्तरमै संचालन गरिएको व्यक्तिगत घटना दर्ताको अभियान नरैनापुर गाउँपालिकामा पनि शुरु भएको जनाइएको छ ।