नेपालगञ्ज, २९ चैत । नेपालगञ्जमा आज कृत्रिम आगलागी तथा नियन्त्रणको अभ्यास गरिएको छ । रामलिला मैदानमा गरिएको उक्त कृत्रिम अभ्यासलाई नेपाली सेना, सशस्त्र तथा नेपाल प्रहरी, रेडक्रसका स्वयम्सेवकलगायतले सघाएका थिए ।
जिल्ला बिपद् ब्यवस्थापन समिति बाँकेले आयोजना गरेको आगलागी तथा नियन्त्रण अभ्यासका लागि छनोट गरिएको रामलिला मैदान क्षेत्रलाई ‘आगीपुर’ गाउँको नाम दिइएको थियो । झट्ट हेर्दा सानो गाउँ जस्तै गरि बनाइएको आगीपुरमा आगो कसरी लाग्यो, लागेपछि स्थानीयको अवस्था, स्थानीय तथा पशुचौपायाको जीउज्यानको सुरक्षा र आगो नियन्त्रणका अभ्यास गरिएका थिए ।
बाँकेमा गर्मीको समयमा आगलागीका घटना बढी हुने भएकाले सोको नियन्त्रणका लागि जनचेतना जगाउन कृत्रिम अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताउनुभयो ।