नेपालगञ्ज, २२ चैत । बाँकेको डुडुवा गाउँपालिकाका स्वास्थ्य चौकीहरुको न्युनतम सेवा मापदण्डको विश्लेषण गरिएको छ । मापदण्डमा सो पालिकाका ६ स्वास्थ्य चौकीमध्ये कम्दी स्वास्थ्य चौकी अव्वल भएको छ । कम्दी स्वास्थ्य चौकीले ८८ अंक प्राप्त गरेको छ । होलिया स्वास्थ्य चौकीले सबैभन्दा कम ६३ प्रतिशत अंक प्राप्त गरेको पालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार, स्वास्थ्य संस्थाहरुले प्रवाह गर्ने सेवाको गुणस्तरीयता र प्रभावकारिताको अध्ययन तथा मूल्याकंन गरि अंक प्रदान गरिएको हो ।
स्वास्थ्य शाखा प्रमुख बुढाले अधिकतम अंक ल्याउनेमा कम्दी स्वास्थ्य चौकी मात्र रहेको र अन्यले मध्यम अंक ल्याएका छन । सबैभन्दा कम अंक ल्याउने होलिया स्वास्थ्य चौकीको सेवा प्रवाहमा सुधार गर्न कार्ययोजना निमार्ण गरिएको बताउनुभयो । विश्लेषण मापदण्डमा होलियाले ६३ प्रतिशत, बेतहनीले ८५ प्रतिशत, बनकट्टीले ८४ प्रतिशत, शाहपुर्वाले ८० प्रतिशत, कम्दीले ८८ प्रतिशत र हिरिमिनियाले ८६ प्रतिशत तथा समग्र पालिकाले ७९ प्रतिशत अंक प्राप्त गरेको स्वास्थ्य शाखा प्रमुख बुढाले बताउनुभयो ।
यसै सन्दर्भमा आज पालिकास्तरीय न्युनतम सेवा मापदण्ड कार्यक्रमहरुको समिक्षा तथा सुदृढिकरण कार्यक्रम गरिएको छ । कार्यक्रममा गाउपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वर कुर्मी, आमोद तिवारी, झंकबहादुर थापा, स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्सन गोपाल गौतम, जनस्वास्थ्य निरिक्षक देवनारायण उपाध्याय, ६ वटै स्वास्थ्य चौकीका इन्चार्ज, पालिकाका शाखा प्रमुख लगायतको सहभागिता रहेको थियो ।