नेपालगञ्ज, २२ चैत्र । बाँकेको नरैनापुर गाउँपालिका ६ गंगापुरमा नवनिर्मित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) को औपचारिक उद्घाटन गरिएको छ । सशस्त्र प्रहरीको नं ५ बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति बिदुर खडका र नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाकअहमद शाहले संयुक्त रूपमा नवनिर्मित बीओपी पोष्ट भवनको उद्घाटन गर्नु भएको हो ।
कार्यक्रममा बाहिनीपति खड्काले सशस्त्र प्रहरीले सीमा सुरक्षासहित राष्ट्रले सुम्पेको अन्य जिम्मेवारी पूरा गर्दै आएको छ भन्नुभयो । बाहिनीपति खड्काले मुलुकको भूमि एक इन्च पनि पराईलाई लान नदिन सशस्त्र प्रहरी सीमाक्षेत्रमा डटी रहने अठोट व्यक्त गर्नुभयो ।
त्यस अवसरमा, गाँउापालिका अध्यक्ष शाहले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको निरन्तर उपस्थितिले गर्दा चोरी तस्करी कम भएकोमा खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक सन्तोष सिंह राठोर, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक मोहन कुवर, नरैनापुरका प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, वडा नं. ५ का अध्यक्ष कृष्णचन्द्र मौर्य, वडा नं. ६ का अध्यक्ष प्रेम मौर्यलगायतले पनि बोल्नु भएको थियो ।