नेपालगञ्ज, २० चैत । नेपालगञ्जमा आज बाँके जिल्लास्तरीय दोश्रो नागरिक सम्मेलन तथा गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखाको ९औँ अधिबेशन गरिएको छ ।
उक्त कार्यक्रममा २ दशकभन्दा लामो समय गैससको माध्यमबाट सामाजिक सेवामा सक्रिय रहदै आउनुभएका नेपाल रेडक्रसका केन्द्रीय उपाध्यक्ष अजितकुमार शर्मा, बाँके जिल्ला सभापति गोवर्धनसिंह सम्झना, गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखाका पुर्व अध्यक्ष पूर्णलाल चुके, बाँके युनेस्को क्लबका संरक्षक प्रवेजअलि सिद्धिकी, महिला जागृति सेलकी अध्यक्ष लक्ष्मी श्रेष्ठ र महिला उपकार मञ्च कोहलपुरकी अध्यक्ष चन्द्रकला उप्रेतीलाई सम्मान गरिएको छ ।
यसैगरी, महासंघको संस्थागत विकासमा सहयोग पु¥याएवापत प्लान इन्टरनेशनल, दलित महिला संघ बाँके र नेपालगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्यलाई समेत सम्मान गरिएको छ । झण्डै ३०० बढी गैससकर्मी सहभागि रहेको कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदीले नागरिक समाज राष्ट्रिय गौरवको विषय बन्नुपर्ने र सरकारले नागरिक समाजको भुमिकालाई सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम शाखा अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा सम्पन्न भएको थियो ।