नेपालगञ्ज, १६ चैत । नेपालगन्जमा सम्भवतः पहिलो पटक बाँके कांग्रेसको प्रथम जिल्ला सम्मेलन हुने भएको छ । चैत १८ गते शनिवार हुने सम्मेलनको पार्टीका महामन्त्री गगनकुमार थापाले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा बाँके कांग्रेसका सभापति नारायणप्रसाद गौडेलले सम्मेलनमा डेढ सय बढी क्षेत्रीय प्रतिनिधि तथा पर्यवेक्षक सहभागि हुने बताउनुभयो । एकदिने उक्त सम्मेलनमा बाँके कांग्रेसको सांगठानिक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिने छन् ।
त्यस्तै सम्मेलनमा प्रजातन्त्र सेनानी, पूर्व पार्टी सभापति, उत्कृष्ट वडा सभापति, महिला वडा सभापति, शहिद परिवार तथा जनआन्दोलन र द्वन्दका घाइतेलाई सम्मान गर्ने कार्यक्रम रहेको सभापति गौडेलले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा सभापति गौडेलले बाँके कांग्रेसको जिल्ला सम्मेलनलाई विगतको कामको समिक्षा र आगामी कार्ययोजना प्रस्तुत गर्ने अवसरका रुपमा समेत लिइएको छ भन्नुभयो ।
पत्रकार सम्मेलनमा बाँके काँग्रेसका उपसभापतिद्वय गोपाल अधिकारी र कृष्ण कार्की, सचिव सुधांशु कोइराला, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.