नेपालगञ्ज, १५ चैत । बर्दियाको गेरुवा गाउँपालिकाको लैँगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण गरिएको छ ।
प्रदेश सुशासन केन्द्र लुम्बिनी प्रदेश नेपालगन्जको आर्थिक तथा प्राविधिक सहयोग तथा गेरुवा गाउँपालिकाको आयोजना र बास नेपालको सहजीकरणमा उक्त परीक्षण गरिएको हो ।
सो पालिकाले आर्थिक वर्ष २०७८÷०७९ मा लैँगिक समानता तथा सामाजिक समावेशिकरणको क्षेत्रमा गरेका सामाजिक, आर्थिक र प्राविधिक क्षेत्रमा गरेका कार्यक्रमको परीक्षण गरिएको बासका कार्यक्रम प्रवन्धक तथा परीक्षक मन भण्डारीले जानकारी दिनुभयो ।
स्थानीय तहहरुमा लैंगिक समानता तथा सामाजिक समावेशीकरणको अवस्था, सुधार गर्नुपर्ने पक्षहरु र त्यसका लागि गर्न सकिने विधिका विषयमा लेखाजोखा गर्न वार्षिकरुपमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण गर्नुपर्ने व्यवस्था रहेको छ ।
चार दिनसम्म गरिएको परीक्षणमा सो गाउँपालिकाले तर्जुमा गर्ने नीति, कार्यक्रम तथा बजेट, बार्षिक योजना तर्जुमा प्रकृया, आयोजना व्यबस्थापन तथा कार्यान्वयन, र अनुगमन तथा मुल्याङ्कन गर्ने क्रममा संघीय, प्रदेश तथा स्थानीय सरकारले अवलम्वन गरेको राष्ट्रिय तथा प्रादेशिक नीति बमोजिम तय भएका लैङ्गिक समानता तथा सामाजिक समाबेशीकरण सम्बन्धि कार्यक्रमहरुको कार्यावन्यनको अवस्थाको समिक्षा गरिएको थियो ।
परीक्षण कार्यक्रममा गेरुवा गाउँपालिका अध्यक्ष, जमानसिंह केसी, उपाध्यक्ष लक्ष्मीकुमारी चौधरी, वडा अध्यक्ष, कार्यपालिका सदस्य, विषयगत शाखाका प्रमुख, बिभिन्न संघसंस्था तथा सञ्जालका प्रतिनिधि लगायतको सहभागिता थियो ।