नेपालगन्ज, १४ चैत । बाँकेको खजुरा गाउँपालिकामा आज लैंङ्गिक समानता तथा सामाजिक समावेशीकरण (जेसी) सम्बन्धि परीक्षण कार्यक्रम गरिएको छ । कार्यक्रममा जेसीको अवधारणा अनुसार, स्थानीय शासन प्रणालीको सेवा प्रवाहमा लैंगिक समानता र सामाजिक समावेशीकरणको मुलप्रवाहिकरण क्रियाकलाप अन्तर्गत उपक्रियाकलाप स्थानीय तहमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण गरिएको थियो ।
प्रदेश सुशासन केन्द्र लुम्विनी प्रदेशको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले गरेको सहजीकरणमा गाउँपालिकाको हरेक शाखा अन्र्तगत लैंगिक समानता तथा सामाजिक समावेशीकरणको दृष्टिकोणले १०० बढी सूचकमा अध्ययन गरि मापन गरिएको हो । १०० सूचकमा छलफल गरि भएको कागज प्रमाण, निर्णय प्रक्रिया, तथा दस्ताबेजका आधारमा मार्किंङ्ग गरिएको छ ।
जेसीको अवधारणामा स्थानीय सरकारको काम कारवाही प्रक्रिया, कार्यक्रम, बजेट योजना तर्जुमा, समुदायको भाषा, संस्कृति, समिति निमाण प्रक्रियालगायतमा जेसीको कार्यान्वयन अवस्थाका बारेमा विस्तृत अध्ययन तथा छलफल गरिएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विक र प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदीले जेसी परीक्षणले खजुरा गाउँपालिकामा जनसहभागिता तथा योजना निर्माण प्रक्रिया अर्थपूर्ण बनाएको धारणा राख्नुभयो ।
कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी लगायतको सहभागिता थियो । कार्यशालामा संस्थाका राकेशकुमार मिश्र, रविन्द्रकुमार ज्ञवाली र ध्रुबराज शर्माले सहजीकरण गर्नुभएको थियो । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले बाँकेको जानकी, खजुरा र कोहलपुर नगरपालिकाको जेसी परीक्षण गर्दै आएको छ ।