नेपालगञ्ज, २३ फागुन । सोमवार नेपालका पहाडी भूभागमा खेलिएको होली आज तराईका जिल्लामा खेलिदै छ । पहाडमा होली मनाइएपछि त्यसको अर्को दिन तराईमा होली मनाउने चलन रहिआएको छ । होलीको अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ ।
स्थानअनुसार मनाइने होलीको नाम पनि फरक–फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु पूर्णिमा’ र तराई–मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ । तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली पर्व मनाइने गरिएको छ ।
सबै जातजाती, धर्मसंस्कृतिका समुदायलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ । असत्यमाथि सत्यको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकताको रंङ्गसमेत छर्दै आएको छ ।