विश्व फिजियोथेरापी दिवस भोलि नेपालगन्जमा मनाइने भएको छ । दिवसका अवसरमा भोलि बिहान ७ बजे प्रभातफेरीको आयोजना गरिएको आयोजक लुम्बिनी प्रदेश फिजियोथेरापी नेपालगन्ज समितिका सचिव फिजियोथेरापिष्ट डा. खेमा भण्डारीले बताउनु भयो । प्रभातफेरी नेपालगन्जस्थित बागेश्वरी मन्दिर परिसरवाट शुरु हुने जनाइएको छ । प्रभातफेरीमा फिजियोथेरापिष्ट, चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी, पत्रकार, नागरिक समाजका अगुवा, अधिकारकर्मीलगायतको सहभागिता हुने बताइएको छ ।
दिवसकै अवसरमा नेपालगन्जको गणेशमान चोकस्थित मनमाया फिजियोथेरापी सेन्टरले भोलि एकदिन निशुल्क उपचारको व्यवस्था गरेको छ । डा. भण्डारीद्धारा संचालित उक्त फिजियोथेरापी सेन्टरमा हाडजोर्नी, नशा, प्यारालाइसिसलगायतको उपचार हुँदै आएको छ । नेपालमा फिजियोथेरापीको इतिहास कोट्याउँदा नयाँ चिकित्सा पद्धतिका रूपमा केही दशक अगाडी मात्र केही निजी अस्पतालहरूले औपचारिक सुरुवात गरेको पाइन्छ, सुस्तरी अहिले फिजियोथेरापी का सेवाग्राही र प्रदायकहरू बढ्दै गएका छन् । सन् १९८० को दशकमा सैनिक अस्पताल, कुष्ठरोग निवारक उपचार पद्धतिहरू अनि केही भारतबाट तालिम प्राप्त स्वास्थ्यकर्मी मार्फत फिजियोथेरापी गरिने पाइन्छ । सन् १९८३ मा आईओएम ले फिजियोथेरापीलाई एसएलसी पछिको ३० महिने कोर्सका रूपमा औपचारिक मान्यता दिएको हो । सन् २००२ पछि धुलिखेल मेडिकल ईन्सटिट्यूटले फिजियोथेरापीलाई औपचारिक सुरु गरेको पाइन्छ ।