नेपालगञ्ज, १८ भदौ । भारतको उत्तर प्रदेश बाराबंकीमा बस दुर्घटनामा हुँदा चार नेपालीको मृत्यु भएको छ भने १४ जना घाइते भएका छ । भारतको रुपैडियाबाट गोवाका लागि छुटेको युपी ३२ पिटी ३९४४ नम्बरको यात्रुबाहक बस आज बिहान दुर्घटनामा परेको हो । भारतीय प्रहरीका अनुसार डवल डेकरको बस बारबंकी नजिकै पञ्चड भएपछि पञ्चड टायर चेन्ज गर्दै गर्दा तीव्रगतिमा आएको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो ।
दुर्घटनामा ज्यान गुमाउनेमा बाँके राप्तीसोनारी बिनौनाका प्रेम थारु, शीतल थारु र दाङ बेलतापुरका चक्रबहादुर वली रहेका छन् । साथै एकजना मृतकको सनाखत हुन सकेको छैन । सो घटनामा परेर बाँके बैजापुरका ५० वर्षीय रावत, ४० वर्षीय अमरबहादुर, बारबर्दियाका ३५ वर्षीया रिताकुमारी थारु, दाङका २८ वर्षीय कृष्ण, रुकुमका ४० वर्षीय कालीबहादुर र तनहुका ४० वर्षीय हरिशरण गम्भीर घाइते भएका छन् । उनीहरुलाई ट्रमा सेन्टर लखनउमा उपचारका लागि पठाइएको भारतीय प्रहरीले जनाएको छ ।
त्यस्तै सल्यान घुईयाबारीका २९ वर्षिय बहादुर राना, पद्मा राना, बाँके बिनौनाका १७ वर्षिय मनोज, मनमती कौर, १९ वर्षिय सुनील थारु, १६ वर्षिय विजय थारु, १८ वर्षिय हरी योगी र सन्तोष घाइते भएका छन । उनीहरुको जिल्ला अस्पताल बाराबंकीमा उपचार भई रहेको जनाईएको छ ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.