नेपालगञ्ज, १७ भदौ । अर्थमन्त्री जनार्दन शर्माले आज बाँकेको नरैनापुर गाउँपालिकाको सुख्खा घोषित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ । आकासे पानीको भरमा धान खेती हुँदै आएको नरैनापुरमा यस वर्ष पर्याप्त वर्षा नभएपछि गाउँपालिकाको कार्यालयले नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा गरेको थियो । गाउँपालिका वडा नं. ५ का अध्यक्ष कृष्णचन्द्र मौर्यका अनुसार, नरैनापुरमा यस वर्ष १५ प्रतिशत धान रोपाई भएको छ । मौर्यले भन्नुभयो—‘रोपिएका धान पनि पानीको अभावमा खेतमै सुकेका छन् ।’
त्यस अवसरमा अर्थमन्त्री शर्माले नरैनापुरमा तत्काल राहतको व्यवस्था मिलाउने आश्वासन दिनुभयो । ‘मन्त्रीपरिषिद् बैठकमा यसबारे छलफलको प्रस्ताव टेबल गर्ने र किसानका लागि बैकल्पिक व्यवस्था मिलाइने छ’—अर्थमन्त्री शर्माले भन्नुभयो ।
निरीक्षणमा सहभागि गाउँपालिका अध्यक्ष इस्तियाकअहमद शाहले सिंचाइको व्यवस्था नभएकोले अधिकांश किसानहरु वर्षाको भरमा खेती गर्न बाध्य भएको जानकारी गराउदै पीडित किसानका लागि राहतको माग गर्नुभयो । ‘सिंचाइका लागि हरेक वडामा ३÷३ वटा डिप बोरिंग जडान, किसानलाई सहुलियत दरमा डिजल तथा विद्युतीकरणलगायतको व्यवस्था हुनुपर्छ’—अध्यक्ष शाहको माग छ ।
निरीक्षण भ्रमणमा अर्थमन्त्री शर्मासंगै लुम्बिनी प्रदेशका सांसद कृष्णा केसी नमूना, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरत बस्नेतलगायतको सहभागिता थियो ।
तथ्यांक अनुसार, ३ हजार ७०० हेक्टर खेतीयोग्य जमिन रहेको नरैनापुर गाउँपालिकाको २६० हेक्टरमा मात्र सिचाई सुविधा उपलव्ध छ । यस वर्ष गाउँ कार्यपालिकाको बैठकले पालिकालाई सुख्खा क्षेत्र घोषणा गरि करमा ८० प्रतिशत छुट दिने निर्णय गरेको थियो ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.