नेपालगञ्ज, ४ भदौ । रत्नराजमार्ग अन्र्तगत नेपालगन्जको जमुनहादेखि राँझासम्म सडक स्तरोन्नती र सडक बत्ती तथा जमुनहादेखि कोहलपुरसम्मका विभिन्न स्थानमा निर्माण हुने आकासे पुलको आज शिलान्यास गरिएको छ ।
छुट्टाछुट्टै कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राइले निर्माण कार्यको शिलान्यास गर्दै जमुनहादेखि राँझासम्म १३ किलोमिटर सडकबत्ती, नेपालगन्ज राँझा र कोहलपुर गरी ५ वटा अकासेपुल र पुष्पलाल चोकदेखि सिधनियासम्म फोरलेनको सडक तथा मिलनचोक र राप्ती नदीको सिधनियाघाटमा फोरलेनको पुल निर्मााण हुने बताउनुभयो ।
काार्यक्रममा मन्त्री राईले आफु शहरी बिकास मन्त्री भएको बेला नेपालगन्जको पहिचान दिलाउनका लागि धेरै बिकास निर्माणको काम गरेको दावी गर्दै अब केही समयमा बैजापुरदेखि दाङ्गको गढवा जोड्ने सडक र धम्बोझी चोकदेखि बर्दियाको खैरापुरसम्मको हुलाकी राजमार्गको पनि शिलान्यास हुने बताउनुभयो । त्यस अवसरमा यातायात तथा भौतिक पुर्वाधार मन्त्रालयका सचिव, महानिर्देशक, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट, उपमेयर कमरुद्धिन राई, एकिकृत समाजबादी पार्टीका केन्द्रीय सदस्य अशोक कोइराला लगायतको उपस्थिति थियो ।